

गाैरीगन्ज / पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजवंशीको घरमा केराको पातमा पेल्का र माछा भात खाएका छन् ।
झापा जील्लाको गौरीगञ्जमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्न पुगेका प्रचण्डले माओवादी केन्द्रका गौरीगञ्ज १ का वडा कमिटी अध्यक्ष तिलक राजवंशीको महाभारास्थित घरमा कोच राजवंशी संस्कृति अनुसार बिहानको साे खाना खाएका हुन् । राजवंशी संकृतिमा रहेको केराको पातमा उनले उसिना चामलको भात , लाफाको पेल्का (लाफा सागको दाल जुन चिप्लो हुन्छ ) , आलु र फूलकोभीको भाजी र रहुँ माछा खाएका हुन् ।
कोच राजवंशी संस्कृतिकाे खाना अनुसार उनले पलेटी कसेर खाना खाएका थिए । उनीसंगै हरिबोल गजुरेल, इन्द्र आङबो , सावित्री कुमार काफ्ले, जीवन आचार्य, धर्मशीला चापागाँईलगायतले खाना खाएका थिए । राजवंशीको घरमा करिव ७५ जनाले खाना खाएको एक स्थानीय कार्यकर्ताले बताए । जसको व्यवस्थापन पार्टीको जिल्ला कमिटीले गरेको थियो ।
उक्त खाना पकाउन र खुवाउन १० जना भन्दा बढी टहलुवा र कामकरी ( राजवंशी भाषामा भोजभतेरमा खटिने पुरुष र महिला स्वयंसेवक ) खटिएको ती कार्यकर्ताले जानकारी दिए ।