विराटनगर / नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा चितवनले पोखरालाई स्पष्ट अन्तरले पराजित गरेको हो।
चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर २ बलमै ७४ रनमा अलआउट भयो। पोखराका नारायण जोशीले सबैभन्दा धेरै ३० रन बनाएका थिए। चितवनका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। सोहेल तानभिर, रिजन ढकाल, र लुक बेनकेन्स्टेनले समान ३–३ विकेट लिएर पोखराको ब्याटिङ लाइनअप ध्वस्त पारे।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। चितवनका रवि बोपाराले ५१ रनको योगदान दिए। पोखराका बलर विपिन खत्री, बास डे लीड, र रेमोन रेफरले समान २–२ विकेट लिए।
चितवनले यसअघि सोमबार काठमाडौँ गुर्खाजलाई हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो। पोखराका लागि भने यो लगातार पहिलो खेलमै हारको सामना गर्नुपरेको छ।