विराटनगर / दोस्रो संस्करणको अन्तरस्कुल डिपिएस रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता मंसिर १३ गतेदेखि विराटनगरमा सुरु हुने भएको छ। विराटनगर महानगरभित्रका १२ विद्यालयको सहभागिता रहने यस प्रतियोगिताका सबै खेल विराटनगर–५ स्थित डिपिएस स्कुलको खेल मैदानमा सञ्चालन हुनेछन्।
प्रतियोगिताको मुख्य विशेषता
प्रतियोगिताको अवधि: मंसिर १३ देखि २१ गतेसम्म
खेल समय: प्रत्येक खेल ५० मिनेट
फाइनल खेल: मंसिर २१ गते
डिपिएस स्कुलले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा फुटबल प्रतियोगिताको तयारी पूरा भइसकेको जानकारी गराइएको छ। डिपिएस स्कुलका प्रिन्सिपल भीमबहादुर लिम्बुका अनुसार, प्रतियोगिताको विजेता टिमलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगितामा विराटनगरका निम्न विद्यालयहरूको सहभागिता रहनेछ:
लिलिपुट,डनबसको,डिपिएस,सगरमाथा,विकेभिएम,गोदावरी,कोशी विद्या मन्दिर,अरनिको,सनसाइन,अर्पण,मोडनेरा ,सेन्ट जोसेफ
डिपिएस स्कुलका फुटबल कोच सुमित डंगोलका अनुसार, कक्षा १० सम्मका विद्यार्थीहरूले यो प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। विराटनगरमा फुटबल खेलाडी उत्पादन गर्न तथा स्कुल स्तरबाटै फुटबलको विकास गर्न प्रतियोगिता आयोजना गरिएको हो। विराटनगरमा विराट गोल्डकप बाहेक फुटबल प्रतियोगिता कम हुने अवस्थालाई ध्यानमा राख्दै, यस्तो प्रतियोगिताले भविष्यका प्रतिभाशाली खेलाडी उत्पादनमा सहयोग गर्ने विश्वास लिइएको छ।