विराटनगर/थाइल्याण्डमा सम्पन्न ‘इन्डुरेन्स इन्टरनेसनल च्याम्पियनसिप २०२४’ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानमा आफ्नो स्थान पक्का गरेको छ। नेपाली खेलाडीहरुले विभिन्न इभेन्टहरूमा सहभागी हुँदै कुल २० स्वर्ण, ६ रजत, र ४ कांस्य पदक जित्न सफल भएका छन्।
प्रतियोगितामा नेपालका खेलाडीहरु कुनाल कामत, गोबिन्द गोयाल, इशाना शर्मा र आध्या शर्माले सहभागिता जनाएका थिए। कुनाल कामतले १४ वटा इभेन्टमा भाग लिँदै भारतबाहेक अन्य देशहरू मध्ये सबैभन्दा बढी स्वर्ण पदक जितेका छन्। उनले ११ स्वर्ण र ३ कांस्य पदक जित्दै सबैभन्दा बढी पदक प्राप्त गर्ने खेलाडी बनेका छन् र ‘प्लेयर अफ दी इयर’को ट्रफी पनि हासिल गरेका छन्।
गोबिन्द गोयालले ६ इभेन्टमा भाग लिँदै ३ स्वर्ण र ३ रजत पदक जितेका छन्। इशाना शर्माले ७ इभेन्टमा ३ स्वर्ण, ३ रजत, र १ कांस्य पदक जितेकी छन्। त्यस्तै, आध्या शर्माले ३ इभेन्टमा ३ स्वर्ण पदक जितेर आफ्नो प्रदर्शन उत्कृष्ट बनाएकी छन्।
भारतले ६६ स्वर्ण पदक जित्दै प्रतियोगितामा पहिलो स्थान हासिल गरेको छ। नेपालले कुल पदक संख्यामा उच्च प्रदर्शन गर्दै दोस्रो स्थान पाएको छ भने तेस्रो स्थानमा फिलिपिन्सले कब्जा जमाएको छ। मोरङ जिल्ला रोलर स्केट एसोसिएसनका अध्यक्ष सुरज कामतका अनुसार नेपाली खेलाडीहरुको यो प्रदर्शनले देशको खेलकुद क्षेत्रमा नयाँ उचाइ थपेको छ र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचानलाई थप सशक्त बनाएको छ।
नेपालको यो सफलताले खेलकुद क्षेत्रमा नयाँ जोश थपेको छ भने खेलाडीहरुको आत्मविश्वास र मेहनतलाई पनि प्रोत्साहित गरेको छ।