पटुवा: खेती, संस्कृति, र चुनौती

Logo
सरिता कर्मकार प्रकाशित शुक्रबार, आश्विन ०४, २०८१

हिउँदो महिना नजिकिएसँगै गाउँघरमा पटुवा निकाल्नको क्रम सुरु भएको छ। विशेष गरी किसानहरूले धेरै मेहनत र समय दिएर गरिने यस खेतीलाई अहिले धमाधम निकालेको देख्न सकिन्छ। पटुवा खेती, विशेष गरी ग्रामीण क्षेत्रका लागि, आय आर्जनको महत्वपूर्ण स्रोत बनेको छ। करिब छ महिनाको परिश्रमपछि, असोज महिनामा किसानहरूले उत्पादन गरेको पटुवा बजारमा बेच्ने गर्छन्।

पटुवा खेतीको प्रक्रिया

चैत्र महिनामा खेत गोडेर बीउ छर्ने काम सुरु हुन्छ। बीउ रोपेपछि नियमित सिंचाई र खेरमेल गर्नु पर्ने हुन्छ। यो बाली छ महिना पछि, लगभग असोज महिनामा काट्नका लागि तयार हुन्छ। पटुवालाई खाल्डो बनाएर पानीमा डुबाउनुपर्छ र १५ देखि २० दिनपछि निकालिन्छ। यस क्रममा पटुवाको बोक्रा छुट्टिन्छ, जसलाई केहि दिनसम्म घाममा सुकाउनु पर्छ। त्यसपछि यो बजारमा बिक्रीका लागि तयार हुन्छ।

पटुवाको उपयोगिता

पटुवा खेतीबाट प्राप्त धागोलाई विभिन्न हस्तकलाका सामग्रीहरू बनाउने काममा प्रयोग गरिन्छ। विशेष गरी तराईका आदिवासी र जनजातिहरूले यसबाट बोरा,झोला, डोरी र अन्य घरेलु सामग्रीहरू बनाउँछन्। पटुवाको साग पनि लोकप्रिय छ, जसलाई ग्रामीण समुदायले स्वादिलो परिकारका रूपमा उपयोग गर्छन्। पटुवाको संठी (हागाँ) लाई दाउराको रूपमा प्रयोग गरिन्छ, जसले ग्रामीण क्षेत्रमा ईन्धनको काम गर्छ।

पटुवा खेतीको चुनौतीहरू

पटुवा खेती निकै मेहनतसाध्य र समय लाग्ने काम हो। आजभोलि कृषकहरूले यसमा आकर्षण गुमाइरहेका छन्, जसका कारण खेतीको क्षेत्रफल घट्दै गएको छ। खेती घट्न थालेपछि उत्पादन पनि कम भएको छ, जसले बजारमा मूल्य वृद्धिको कारण बनाएको छ। किसानहरूले जानकारी दिए अनुसार उत्पादनमा कमीका कारण किनबेच पनि घट्दै गएको छ। किसानहरूले ३१,०० देखि ३२०० रुपैयाँ मुल्य सम्म बेच्ने गरेका छन् भने व्यवसायी तथा उधोगीहरुले ३४,०० मा बेच्ने गरेको व्यापारीहरुको भनाई रहेको छ।

संस्कृति र परम्परामा पटुवा

पटुवा खेती मात्र आर्थिक आयको स्रोत होइन, यो धेरै समुदायहरूको सांस्कृतिक परम्परासँग पनि जोडिएको छ। राजवंशी समुदायमा विवाहको बेला मडुवा पूजा गर्दा पटुवाको प्रयोग अनिवार्य हुन्छ। विवाहको बेला बेहुला–बेहुलीलाई हल्दी लगाउँदा पटुवा राखेर गरिने चलन रहेको छ। यसैगरी, हुक्का हुक्की पर्वमा पनि संठी बालेर उत्सव मनाउने परम्परा छ।

पटुवाको भविष्य

कृषकहरूका लागि पटुवा खेती एक चुनौतीपूर्ण काम बनेको छ। खेतीको लगानी र मेहनत अनुसारको प्रतिफल नपाउँदा किसानहरू अन्य वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन्। पटुवा खेतीलाई पुनर्जीवित गर्न र यसको संस्कृतिक महत्त्वलाई बचाइ राख्न कृषिमा आधुनिक प्रविधि र सरकारी सहयोगको खाँचो छ। स्थानीय स्तरमा यसबारे जनचेतना अभिवृद्धि र उत्पादन वृद्धि गर्न पहल आवश्यक देखिन्छ।

पटुवा खेतीको यो परम्परा जोगाउन सके, यसले आर्थिक र सांस्कृतिक दुवै पक्षमा गाउँ घरलाई उचाइमा पुर्याउन सक्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]