

- नेपाल-भारत विश्व मैत्री संघद्वारा उद्योग, व्यापार तथा सांस्कृतिक सम्बन्ध विषयक कार्यक्रम सम्पन्न ..
भोजराज घिमिरे –
विराटनगर, चैत १५ – नेपाल-भारत विश्व मैत्री संघको आयोजनामा नेपाल र भारतबीचको सांस्कृतिक, उद्योग, व्यापार तथा अन्य विषयमा केन्द्रित एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विराटनगरस्थित मोरङ व्यापार संघको हलमा आयोजना गरिएको थियो।
कार्यक्रमको अध्यक्षता नेपाल-भारत विश्व मैत्री संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष युवराज श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जनता दल युनाइटेड, भारतका संगठन मन्त्री पवन मिश्र, गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरी, उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, चेम्बर अफ कमर्सका अध्यक्ष यादव पोखरेल, चेम्बर अफ कमर्सका प्रतिनिधि तथा वरिष्ठ पत्रकार राहुल ठाकुर उपस्थित थिए।
कार्यक्रमको उद्घाटन दीप प्रज्वलन तथा नेपाल र भारतका राष्ट्रिय गान बजाएर गरियो। महासचिव किरण राज रेग्मीले स्वागत मन्तव्य राख्दै संस्थाको उद्देश्य र कार्यक्रमका विषयमा प्रकाश पार्नुभयो। प्रमुख अतिथि मेयर कोइरालाले नेपाल-भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक एवं आर्थिक रूपमा गहिरो रहेको उल्लेख गर्दै यस सम्बन्धलाई अझ सुदृढ बनाउन निरन्तर प्रयास आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा वक्ताहरुले नेपाल-भारतको परम्परागत धार्मिक, सांस्कृतिक र व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउन आवश्यक पहलहरूबारे आफ्ना धारणा राखेका थिए। नेपाल र भारतबीचको खुला सिमाना, साझा संस्कृति, धार्मिक सहकार्य र व्यापारिक अवसरहरूलाई समयानुकूल विकास गर्नुपर्नेमा सबै वक्ताहरूको जोड रहेको थियो।
- यसै अवसरमा नेपाल-भारत विश्व मैत्री संघ का निर्वाचित कोशी प्रदेशका अध्यक्षलाई बधाई दिँदै सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम पनि गरिएको थियो। उद्योग तथा व्यापारसम्बन्धी अन्तरक्रियाका क्रममा मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष यादव पोखरेल, नेपाल-भारत विश्व मैत्री संघका वरिष्ठ सल्लाहकार दिनदयाल लगायतका उद्योगी व्यवसायीहरूले विचार प्रस्तुत गरेका थिए।
नेपाल-भारत विश्व मैत्री संघका वरिष्ठ उपाध्यक्ष युवराज श्रेष्ठले कार्यक्रमको समापन गर्दै नेपाल र भारतबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउन निरन्तर संवाद, अध्ययन र सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा उद्योगी व्यवसायी, पत्रकार, समाजसेवी तथा अन्य क्षेत्रका व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।