बिराटनगर/ कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजन अधिकारीले शान्ति सुरक्षा कायम गर्न सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरमा शुक्रबार आयोजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा उनले सञ्चारकर्मीको सहकार्यले प्रदेशमा शान्ति सुरक्षा सुदृढ गर्न मद्दत पुग्ने बताए।
कार्यक्रममा बोल्दै डीआईजी अधिकारीले विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कानूनी दायित्वहरू सफलतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, संगठन प्रमुख प्रहरी महानिरीक्षकसँगको सम्झौता अनुरुप कोशी प्रदेशमा अपराध नियन्त्रण, अपराध अनुसन्धान, पिडकलाई कानूनी दायरामा ल्याउन र पिडितलाई न्याय दिलाउन विशेष प्राथमिकता दिइने उनले बताए।
लागुऔषधको ओसारपसार र प्रयोग नियन्त्रणका लागि पनि प्रहरीले प्रभावकारी कदम चाल्ने र यसमा सम्बन्धित निकायसँग समन्वय गर्ने अधिकारीले स्पष्ट पारे।
पत्रकारहरूसँगको अन्तरक्रियामा उनले सञ्चारकर्मीहरूबाट उठाइएका प्रश्नहरूको जवाफ दिंदै सुझावलाई आत्मसात् गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा प्रदेश प्रहरीका अन्य उच्च अधिकारीहरू र विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति थियो।