विराटनगर / गोलरक्षक निरज चौधरीको नायकिय प्रदर्शनको मद्दतले इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ को अन्तरले पराजित गर्दै जागृतिले अघिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो।
टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरेका थिए भने निशान लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो। जिटिएका तर्फबाट आशिष देवान र प्रितम राईले मात्र गोल गर्न सके। यस क्रममा गोलरक्षक निरज चौधरीले अंगद थापा मगर र भाइचुङ राईका प्रहार उत्कृष्ट बचाउ गर्दै जागृतिको जित सुनिश्चित गरे।
खेलको १७ औं मिनेटमा जागृतिका प्रवेश बस्नेतले खमिरगिल्सन कन्दङ्वाको क्रस पास सदुपयोग गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर २० औं मिनेटमा मिलन राईले पेनाल्टीको अवसर गुमाए। खेलको २२ औं मिनेटमा जिटिएका देवाशिष राईले खेल बराबरी गराएका थिए।
जागृति ६८ औं मिनेटमा दबाबमा परेको थियो जब मिलन राईले विपक्षी गोलकिप्परलाई फाउल गरेपछि रेडकार्ड पाएर मैदान छोड्नुपरेको थियो।
खेलभरि उत्कृष्ट प्रदर्शन गरेका जागृतिका गोलरक्षक निरज चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
आयोजक झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङका अनुसार बुधबारको तेस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेड र गोर्खा ब्वाइज स्पोर्टस क्लब रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट गोलकिप्पर, उच्च गोलकर्ता र उदीयमान खेलाडीलाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख नगद पुरस्कार दिइनेछ।
यसैगरी, प्रत्येक खेलमा प्लेयर अफ द म्याचलाई १० हजार नगद पुरस्कार दिइँदै आएको छ। दर्शकलाई थप प्रोत्साहन गर्न हरेक दिन महेन्द्ररत्न स्टोर्सले एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी उपहार दिइरहेको छ।
झापा कपको फाइनल खेल पुस ८ गते हुने छ।