

विराटनगर / इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा आजदेखि इलाम गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदैछ। रेड हर्स फुटबल क्लबको आयोजनामा सुरु भएको यो प्रतियोगिता मंसिर २९ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा नेपालका विभिन्न प्रतिष्ठित क्लबहरू सहित भारतको दार्जिलिङको जिटिए टिम समेत सहभागी भएका छन्। यस पटक प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी), संकटा क्लब, त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र क्लब, र आयोजक रेड हर्स फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँसहित उपाधि प्राप्त गर्नेछ भने उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ। इलाम गोल्डकपले स्थानीय तथा राष्ट्रिय स्तरमा फुटबलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
रेड हर्स फुटबल क्लबले खेलकुदको माध्यमबाट इलामको पहिचान र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो।