विराटनगर। मोफसलको चर्चित फुटबल प्रतियोगिता बिर्तामोड झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ देखि डोमालाल राजवंशी रंगशालामा हुने यो प्रतियोगिता भव्य र परिष्कृत बनाउन मैदानलाई चिटिक्क बनाइएको छ।
१० हजार दर्शक अटाउन सक्ने बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ। रंगशालाको झार छाँटेर मैदानलाई आकर्षक बनाइएको आयोजकले जनाएको छ। झापा ११ क्लबका अध्यक्ष जलकुमार गुरुङका अनुसार प्रतियोगितालाई खेल पर्यटनको प्रवर्द्धन र स्थानीय फुटबलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो।
प्रतियोगितामा एक विभागीय टिम, ए डिभिजन क्लबहरू, मोफसलका चर्चित टिमहरू तथा भारतका दुई वा तीन टिमसहित १० वटा टिमको सहभागिता रहनेछ। विजेता टिमले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५ लाखसहित ट्रफी र मेडल हात पार्नेछ।
प्रतियोगिताका उत्कृष्ट प्रदर्शनकर्ताहरूलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ।उदीयमान खेलाडी, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उच्च गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ दिइनेछ।प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ।
झापा ११ क्लबले यसअघि २०७२ सालमा पहिलोपटक झापा गोल्डकप आयोजना गरेको थियो। यो दोस्रो ठूलो नकआउट फुटबल प्रतियोगिता हो। डोमालाल राजवंशी रंगशाला देशका उत्कृष्ट खेलमैदानमध्ये एक मानिन्छ।
११ वर्षअघि, झापा टिमले एन्फा कपमा सहभागी भई ए डिभिजन क्लबहरूलाई पराजित गर्दै च्याम्पियन बनेको ऐतिहासिक उपलब्धि हासिल गरेको थियो।
प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ। झापाली फुटबलप्रेमीहरूको उत्साहलाई मध्यनजर गर्दै यो प्रतियोगिता अत्यन्त रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।