

समय र प्रविधिको विकाससँगै नेपाली समाजमा ठूलो परिवर्तन आएको छ। ती परिवर्तनहरूले एकातिर आधुनिकताको लाभ ल्याएको भए पनि, अर्कोतिर हाम्रो मौलिक संस्कृति र परम्परालाई धरापमा पुर्याएको छ। बाल्यकालका स्मृतिहरू झल्झली सम्झँदा, विद्यालयका वार्षिक कार्यक्रमहरूमा देखाइने मारुनी नृत्य, लोकगीत, र विभिन्न जातीय प्रस्तुतिहरू मनमा गहिरो प्रभाव पार्थे। स्थानीय महोत्सवहरूमा कलाकारहरूलाई सम्मान गर्दै नेपाली पहिचान झल्किने कार्यक्रम आयोजना गरिन्थ्यो। तर, समय बदलिँदै जाँदा यस्ता कार्यक्रमको स्वरूप मात्र होइन, समाजको प्राथमिकतामा पनि भारी परिवर्तन आएको छ।
पहिले, नेपाली गीत र सभ्य भाषाका गायक-गायिकाका प्रस्तुतिहरू सबैको मन लोभ्याउने खालका हुन्थे। कार्यक्रमपछि ती गीतहरू हप्तौंसम्म गुनगुनाउँदै रमाउने चलन थियो। गाउँघरका महोत्सवहरूमा सबै उमेरका मानिसहरू सहभागी भएर रमाइलो गर्थे। तिहारजस्ता चाडपर्वमा देउसी-भैलो खेल्न महिलाहरू गुन्यू-चोली र पुरुषहरू दौरा-सुरुवालमा सजिएर, मादल बजाउँदै, ताली पड्काउँदै नाचगान गर्थे। यी सबैले हाम्रो परम्परागत जीवनशैली र संस्कृतिलाई बलियो बनाउने गर्थ्यो।
आजको युगमा बालबालिकाले जन्मेदेखि नै मोबाइल, युट्युब, र टिकटकजस्ता प्रविधिको प्रयोग गर्न थालिसकेका छन्। मोबाइल बिना खाना नखाने, सामाजिक सञ्जालमा अत्यधिक समय बिताउने, र अस्वस्थ सामग्री हेर्ने प्रवृत्ति बढ्दो छ। यसले हाम्रो नयाँ पुस्तालाई नेपाली मौलिकताबाट टाढा पुर्याउँदै विकृत संस्कृतिको प्रभावमा ल्याएको छ।
अहिलेका महोत्सवहरूमा परम्परागत कलाकारभन्दा अश्लील गीतमा नृत्य गर्ने कलाकारलाई प्राथमिकता दिइन्छ। छोटा पहिरनमा नाच्ने र अश्लील गीत प्रस्तुत गर्ने कलाकारलाई बोलाएर मनोरञ्जन दिने कार्यक्रम सामान्यजस्तै भइसकेको छ। यस्तो वातावरणमा परिवारका सदस्य एकसाथ बसेर कार्यक्रम हेर्न पनि अप्ठ्यारो महसुस हुन्छ।
तिहारमा मनाइने देउसी-भैलो पनि विकृत भइसकेको छ। पहिलेको जस्तो परम्परागत पहिरन र गीतको सट्टा, अहिले हिन्दी गीतमा छोटा कपडामा नाच्दै देउसी खेल्ने चलन सुरु भएको छ। यस्तो अवस्थामा हाम्रो मौलिक पर्वलाई नकारात्मक रूपमा प्रभावित बनाइएको छ।
नेपालको धर्म, संस्कृति, र परम्पराले विदेशी पर्यटकहरूलाई सधैं आकर्षित गर्दै आएको छ। विदेशीहरू हाम्रो कला-संस्कृतिबाट प्रभावित भएर नयाँ कुरा सिक्छन् र आफ्नो देशमा लागू गर्छन्। तर, नेपालीहरू भने वेस्टर्न कल्चरबाट अन्धाधुन्ध प्रभावित हुँदै आफ्ना परम्परागत पहिचान गुमाउँदै गइरहेका छन्।
आजकलका कार्यक्रम र संगीतले हाम्रो मानसिकता र संस्कारमा नकारात्मक प्रभाव पारेका छन्। अस्लील गीत र नृत्यले समाजलाई बिगारिरहेको छ। परिणामस्वरूप, लुटपाट, बलात्कार, र अन्य अपराधहरूमा वृद्धि भइरहेको छ। यदि यही क्रम जारी रह्यो भने हाम्रो कला-संस्कृति मात्र होइन, हाम्रो सामाजिक संरचनामा पनि ठूलो संकट आउनेछ।
शिक्षा प्रणालीमा सुधार: विद्यालयस्तरबाटै नेपाली कला, संस्कृति, र परम्पराबारे सचेतना फैलाउनुपर्छ।
सरकारी हस्तक्षेप: अस्वस्थ र अश्लील कार्यक्रम तथा गीतमाथि प्रतिबन्ध लगाउँदै परम्परागत कलाकारलाई प्रोत्साहन गर्न सरकार सक्रिय हुनुपर्छ।
परिवारको भूमिका: अभिभावकले बालबालिकालाई उचित मार्गदर्शन गर्दै आफ्नो परम्पराको महत्व बुझाउनुपर्छ ।
मिडियाको भूमिका: नेपाली संस्कृति झल्काउने सामग्रीलाई प्राथमिकता दिनुपर्छ।
नेपाल धर्म, संस्कृति, र परम्पराको धनी देश हो। हाम्रो कला-संस्कृतिले हाम्रो पहिचान निर्धारण गर्दछ। आधुनिकताको नाममा मौलिकता गुमाउनु भनेको हाम्रो अस्तित्वलाई खतरामा पार्नु हो। अहिले नै सही कदम चालिएन भने हाम्रो संस्कृति लोप हुने र नेपालको नाम मात्र बाँकी रहनेछ। अतः परिवार, समाज, र सरकारको सामूहिक प्रयासबाट हाम्रो मौलिकता जोगाउँदै भविष्यका लागि स्वस्थ समाज निर्माण गर्न सकिन्छ।