

ग्रामथान / यहि आउँदै गरेको मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा सरदार नेपाली कांग्रेस बाट उमेदवारी पक्का भएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा बलराम सरदार थारु लाई उम्मेदवार बनाउने नेपाली कांग्रेस पार्टीले निर्णय गरेको छ । आज बिहान बसेको नेपाली कांग्रेस मोरङ संसदीय समितिको बैठकबाट सर्वसम्मत रुपमा बलराम सरदार थारुलाई आधिकारिक उम्मेदवार बनाएको कुरा नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले बताएका छन् ।
बलराम सरदारको जन्म हालको ग्रामथान गाउँपालिका वडा नम्बर २ पिडारबनीमा भएको हो । निजको जन्म २०१० सालमा भएको हो। निज सरदारले एसएलसी सम्मको शिक्षा हासिल गर्नुभएको छ ।
उहाँले २०२७ सालमा राधाकृष्ण माध्यमिक विद्यालय पानीटङ्की विराटनगरबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो । बलराम सरदार थारु नेपाली कांग्रेसका निकै पुराना कार्यकर्ता मध्येका एक हुन् ।
कांग्रेस पार्टीमा उहाँको योगदान अतुलनीय रहेको छ । उहाँ सरल स्वभावको हुनुहुन्छ । उहाँले लामो समयदेखि पार्टीमा रहेर ठूलो योगदान गर्नुभएको छ । राजनिति जतिसुके उताब चढाव भएपनी उहाँ कहिले पनि विचलित हुनुभएन तर जीवनको उत्तरार्धमा अन्तिम समयमा आएर ७१ वर्षको उमेरमा नेपाली कांग्रेसबाट टिकट पाउनुभएको छ । ढिलै भएपनि नेपाली कांग्रेसले सरदारलाई आधिकारिक उम्मेदवार बनाएर न्याय गरेको छ ।
उहाँले नेपाली कांग्रेसमा रहँदाखेरिको अहिलेसम्म कुनै लाभको पद र अवसर प्राप्त गर्न प्राप्त गर्नु भएको थिएन । निजले नेपाली कांग्रेसको विभिन्न पदहरुमा बसी भूमिका निर्वाह गर्दै आउनुभएको छ । नेपाली कांग्रेस आबद्ध थारु विभागको केन्द्रीय सदस्य पनि हुनुहुन्छ । उहाँ पूर्व महासमिति सदस्य पनि हुनुभएको छ । कुनैबेला क्षेत्रीय सचिवको रुपमा पनि कार्य गर्नुभएको थियो ।
२०४६ सालमा झोराहाट गाविसमा नेपाली कांग्रेसको तदर्थ समितिको सभापति हुनुभएको उहाँ २०७८ सालमा कांग्रेस आबद्ध शुभेच्छुुक संस्था समन्वय विभागको केन्द्रीय सदस्यसमेत हुनुभएको थियो । र पूर्व झोराहसट गाविसको बुथ सभापतिमा दुईपटक निर्वाचित हुनुभएको थियो ।
२०४६ सालको प्रथम जनआन्दोलन देखि नै उहाँको पार्टीमा ठूलो भूमिका रहिआएको छ । विराटनगर देखि काठमाडौँ सम्मका आमअनशन कार्यक्रममा सरिक हुनुभएका थिए । कुनै बेला जिल्ला वन डिभिजन मोरङमा सदस्यको रुपमा नियुक्त हुनु भएका थिए । बाबा पेशाले किसानका छोरा हुन् तर हाल व्यावसायिका रूपमा श्री राधाकृष्ण आयल ट्रेडर्सका सञ्चालक पनि हुन् ।