दशैं, मासु संस्कृति र पशु बलिको परम्परा: हाम्रो सामाजिक परिप्रेक्ष्य

Logo
सरिता कर्मकार प्रकाशित सोमबार, आश्विन २८, २०८१

दशैं नेपालका प्रमुख चाडपर्वमध्ये एक हो, जसलाई सबै धर्म, जाति, र समुदायले उल्लासपूर्ण रूपमा मनाउँछन्। दशैंको खास महत्त्व देवी दुर्गाको पूजामा भए पनि, सामाजिक रूपमा यो परिवार, आफन्त, र साथीभाइसँग भेटघाट र भोजभतेर गर्ने पर्वका रूपमा पनि स्थापित छ। नेपाली समाजमा दशैंको चिरपरिचित तत्व भनेको मासु र चिउरा हो। दशैं नजिकिएपछि प्रायः सबैले “खसी ढाल्ने”, “मासु चिउरा खाने” भनेर चर्चा गर्ने गर्छन्। यो परम्परा पुस्तौंदेखि निरन्तर चलिरहेको छ र नेपाली संस्कृति र संस्कारको एक महत्वपूर्ण भाग बनेको छ।

अहिले दशैंको माहोल छ, र यो समयमा अधिकांश नेपाली घरमा मासु प्रमुख भोजनका रूपमा परोसेको देख्न सकिन्छ। बिहान बेलुकै मासु पाक्ने, परिवारका सदस्यहरूलाई खुवाउने चलन छ। कतिपय परिवारमा त दशैं विशेषगरी मासुका विभिन्न परिकार बनाउन र खानकै लागि प्रतिक्षा गरिएको जस्तो देखिन्छ। खसी, बोका, र अन्य पशुहरू काट्ने क्रम दशैंको अभिन्न अंग बनेको छ। मासुको परिकारमा सेकुवा, भुटन, पक्कु, झोल, र रोस्ट मुख्य छन्, जसले दशैंको स्वादलाई विशेष बनाउँछ। यति मात्र नभई, धेरै ठाउँमा रक्सी सँगै सितन बनाएर गफ गर्दै मासु खाने र रमाइलो गर्ने चलन पनि छ।

तर, यो सांस्कृतिक रमाइलोको अर्को पाटो भने त्यति सुखद छैन। दशैंसँगै बढ्ने मासु उपभोगले पशु हत्या र बलिको सवाललाई पनि उठाउँछ। हामी रमाइलो गर्न र स्वादका लागि जिउँदा प्राणीहरूको ज्यान लिन्छौं भन्ने कुरा थाहा हुँदा पनि बेवास्ता गर्छौं। हामी हाम्रो खुसीको लागि यी पशुहरूको बलि दिँदै छौं। कतै पशु बलि पूजा अनुष्ठानको एउटा अंग बनेको छ भने कतै खानेकुराको रूपमा। जति धेरै मानिसले दशैं मनाउने, त्यति धेरै पशुहरूको हत्या हुने निश्चित छ।

पशु बलिको यो परम्परा हाम्रो समाजमा गहिरो रूपमा जरा गाडेको छ। हामीले पुस्तौँदेखि परम्परागत रूपमा दशैंमा देवी दुर्गालाई पशु बलि दिने प्रचलनलाई निरन्तरता दियौँ। देवी दुर्गालाई खसी वा राँगो चढाएर बलि दिनु धार्मिक कर्मका रूपमा हेरिन्छ। धेरैजसो ठाउँमा यो कर्मलाई देवीप्रतिको श्रद्धा र भक्तिको रूपमा मानिन्छ। पशु बलि दिएपछि घरपरिवारले बलि दिएको मासुलाई प्रसादका रूपमा खाने गर्छन्। तर, यसले पशुको जीवनको महत्त्वलाई नकारेको सत्यलाई नजरअन्दाज गरिरहेको छ।

दशैंको नाममा पशु बलि दिएर आफ्नो मनोरञ्जन गर्नाले पशुको जीवनको मूल्यको सम्मान गरिरहेको छैनौं भन्ने कुरालाई बुझ्न जरुरी छ। मानिसको ज्यानले जति महत्व राख्छ, पशुको ज्यान पनि त्यत्तिकै मूल्यवान् हुन्छ। के हामी आफ्नो परम्परा र संस्कृतिलाई आधुनिक मानवीय मूल्यहरूसँग जोड्न सक्दैनौँ? धर्म र संस्कृति निस्सन्देह हाम्रो पहिचान हो, तर यसलाई जिउँदा प्राणीहरूको हत्या र कष्टको माध्यमबाट निभाउनु उपयुक्त छ कि छैन भन्ने सवाल महत्त्वपूर्ण छ।

दशैंको समयमा खसी, बोका, र अन्य पशुहरूलाई हाटबजारमा ल्याएर बेच्छन्। बजारहरूमा मासु किन्नेको भिड लाग्छ, र मानिसहरू उत्साहपूर्वक मासु किनमेल गर्छन्। तर यसभीडमा पशुको पीडा र उनीहरूको जीवनको संघर्षलाई ध्यान दिइँदैन। पशुहरूलाई काट्नुअघि उनीहरूको डर, तनाव, र कष्टलाई हाम्रो समाजले वेवास्ता गरिरहेको छ। एकातिर हामी देवीको पूजा गरेर आशीर्वाद लिन्छौँ भने अर्कोतिर देवीको नाममा निर्दोष प्राणीहरूको बलि चढाउँछौं। यो दोहोरो दृष्टिकोणले हाम्रो समाजलाई कहाँ पुर्याउँदैछ?

पछिल्ला केही वर्षमा, पशु अधिकारको सवालमा धेरै बहस र छलफल हुन थालेको छ। धेरै ठाउँमा पशु बलिको परम्परालाई चुनौती दिइएको छ। नेपालमा पनि यस विषयमा संवेदनशीलता बढ्दै गइरहेको छ। केही समुदायहरूले दशैंमा पशु बलि नगरी निःशस्त्र पूजा गर्ने, अन्य वैकल्पिक विधिहरू प्रयोग गरेर देवीको आराधना गर्ने अभ्यास थालेका छन्। यसले परम्परा र आधुनिकता बीचको सन्तुलन कायम गर्न सक्ने एउटा मार्ग संकेत गर्दछ।

मासु खाने वा नखाने सवाल व्यक्तिको रुचि, संस्कार, र आस्थासँग सम्बन्धित हुन सक्छ। तर, हामीले जिउँदा प्राणीहरूको जीवनप्रति सम्मान राख्नुपर्ने महत्त्वपूर्ण कुरा हो। दशैंजस्तो ठूलो चाडमा, जहाँ परिवार र समाजसँग रमाइलो गर्ने अवसर प्राप्त हुन्छ, हामीले खाद्यान्न र अन्य परिकारहरूमा विविधता ल्याएर पशुहरूको हत्या नगरी पनि पर्व मनाउन सक्छौं।

अन्ततः, परम्पराको नाममा जिउँदा प्राणीहरूको हत्या गरेर रमाइलो गर्नु भनेको हाम्रा मूल्य र मान्यतामाथि पुनर्विचार गर्नुपर्ने समय आएको छ। परम्पराहरू महत्वपूर्ण छन्, तर तिनलाई समयानुकूल परिवर्तन गर्न सकिन्छ। हामीले दशैंको वास्तविक अर्थ—शान्ति, सद्भाव, र समृद्धि—लाई आत्मसात गर्दै समाजलाई पशु हत्या नगर्ने दिशामा अघि बढाउनुपर्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]