विपन्न र कडा रोगिको भरोसा प्रदेश जनस्वास्थय प्रयोगशाला

Logo
श्याम सुन्दर सुतिहार / विराटनगर प्रकाशित सोमबार, आषाढ १७, २०८१

विराटनगर / सुनसरी दुहबी ९ का वीरबल शर्मा अचानक बेहोस भए । जेष्ठको अन्तिम साता अचानक बेहोस भएपछि उनलाई उपचारका लागि विराटनगर स्थित कोशी अस्पतालमा परिवारका सदस्यले लगे । अस्पतालमा लगेपछि उनको सिट स्क्यान गर्नु पर्ने भयो । डाक्टरले सिटी स्क्यान गर्न लेखे पनि अस्पतालमा सिटी स्क्यान बिग्रिएका कारण प्राइभेट ल्याबमा गएर उनको सिट स्क्यान गरियो । विपन्न समुदायका शर्माका परिवारले सिटी स्क्यान गरेबापत १० हजार रुपैयाँ तिरे । रिपोट हेरेपछि डाक्टरले उनलाई निजी अस्पतालमा लगेर उपचार गराउन जाने सल्लाह दिए । त्यसपछि उनका परिवारले विराटनगरकै सञ्जीवनी अस्पतालमा उपचारका लागि लगे ।

अस्पतालमा लगेपछि डाक्टरले विभिन्न चेक गर्नका लागि लेखे । अस्पतालमा उनको चेकजाँचका लागि मात्रै २५ हजार रुपैयाँ लाग्ने भयो । परिवारका सदस्यले आफूहरूसँग त्यत्रो रकम नभएको बताएपछि अस्पतालकै कर्मचारीले उनीहरूलाई चेकजाँचका लागि विराटनगरकै जनस्वास्थ्य प्रयोगशालामा जान सुझाव दिए ।

कोशी प्रदेश सरकारले सञ्चालन गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँदा वीरबलका परिवारले ४ हजार मात्रै तिर्नु प¥यो । शर्माले भने, सञ्जीवनी अस्पतालमा २५ हजार रुपैयाँ लाग्छ भनेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ४ हजार मै काम भयो । त्यहीको चेकजाँच पछि औषधी खाँदा रोग पनि निको भयो ।
विभिन्न रोगको समस्या भएपछि उपचारका लागि विराटनगर महानगरपालिका वडा नं. १० की ७० बर्सिया अम्बिका दाहाल विराटनगरको सप्तकोसी नर्सिङ होममा पुगिन् । डाक्टरले रगतका विभिन्न परीक्षण गर्न लगाए । तर अस्पतालको परीक्षण शुल्क महँगो थियो । सप्तकोसी नरसिंग होममा गर्नु पर्ने परीक्षण शुल्क महँगो भएपछि उनीहरू प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ती जाँचहरू गराउन गए ।
ज्येष्ठ नागरिक भएका कारण सो प्रयोगशालामा अम्बिकाको परीक्षण शुल्कमा ९० प्रतिशत सम्म छुट भयो । दाहालका छोरा सुबोध दाहालले भने,“सप्तकोसीमा लाग्ने भनिएको भन्दा ९० प्रतिशत कम पैसामा आमाको जाँच भयो ।”

२०७५ साल चैतमा सङ्घीय सरकारले जनस्वास्थ्य प्रयोगशालाको स्थापना ग¥यो । पछि सो प्रयोगशाला प्रदेश सरकारको मातहतमा आयो । कोभिडको महामारी सुरु भएपछि सङ्घीय सरकारले सो प्रयोगशाला कोशी प्रदेश सरकारलाई हस्तान्तरण ग¥यो । प्रदेश सरकार मातहतमा आएपछि अहिले प्रदेश जनस्वास्थ्य प्रयोगशालामा नियमित रूपमा सामान्य र विशेष सेवाहरू प्रदान गर्दै आएको छ ।

यस्तै प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कोभिड–१९, एण्टीबोडी, थालेसेमिया, महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग जस्ता सर्भीलेन्स सेवा समेत प्रदान गर्दै आएको छ । प्रयोगशालाले न्यून शुल्कमा गुणस्तरीय रूपमा स्वास्थ्य परीक्षण गर्दै आएको प्रयोगशालाका निमित्त प्रमुख प्रणवकुमार यादवले बताए ।

आमाको उपचारका क्रममा विभिन्न परीक्षण गर्न पुगेका दाहालले भने,“यो प्रयोगशालामा सस्तोमा परीक्षण त हुन्छ नै विश्वसनीयता समेत रहेको छ ।” उनले प्रयोगशाला शनिवार समेत खुल्ला भइदिएको भए अझ सजिलो हन्थ्यो बताए । प्रयोगशालाले बिरामीहरूको परीक्षण बाहेक प्रदेश भरी रहेका ल्याबहरूको अनुगमन समेत गर्दै आएको छ । अन्य ल्याबहरूको गुणस्तर के छ ? यसको बारेमा अनुगमन र नियमन समेत यही प्रयोगशालाले गर्दै आएको यादवले बताए ।
प्रयोगशालाले प्रदेश भरीका ल्याबहरूमा काम गर्नेहरूका लागि सेवाकालीन बायोसेफ्टी र एन्टी माईक्रोबियल रेसिस्टेन्स तालीम समेत सञ्चालन गर्दै आएको छ । प्रयोगशाला दर्ताका लागि निवेदन परेका ल्याबको अनुगमन तथा मूल्यांकको काम गदै आएको यादवले बताए ।

प्रयोगशाला शनिवार पनि खोल्नुपर्ने, चौबिसै घण्टा सेवा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने, ल्याबमा इसीजी लगायतको सेवा थप गर्नुपर्ने दहालले बताए ।
२५ हजारको लाग्ने भनिएको जाँच ४ हजार रुपैयाँमा सकिएपछि दङ्ग परेका बिरबललाई भने प्रदेश जनस्वास्थ्य प्रयोगशालाले दिएको रिपोट निजी अस्पतालले पनि स्वीकार गर्नु पर्ने बताए ।

यो नियम बाध्यकारी बनाइयो भने म जस्तै गरिबहरूले अकालमा मर्नु पर्ने थिएन । उनले भने सरकारले यस बारेमा पनि ध्यान देओस् ।

नेपालमा २०२१ मा जनस्वास्थ्य प्रयोगशाला रूपमा वीर अस्पतालको प्याथोलोजी विभागबाट सुरु भएको हो । वि.स. २०३४ सालमा केन्द्रीय स्वास्थ्य प्रयोगशालाको रूपमा यसलाई स्तरोन्नति गरिएको थियो । २०५० सालमा छुट्टै निकायको रूपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला संस्थापना भएसँगै क्षेत्रीय प्रयोगशाला सञ्चालन गर्ने सरकारले योजना बनायो ।

मुलुकमा आएको सङ्घीयतासँगै प्रदेश भरका नागरिकलाई सरकारी र निजी स्तरबाट प्रदान गरिने प्रयोगशाला सेवालाई भरपर्दो, गुणस्तरीय र व्यवस्थित बनाउन प्रदेश तहमा पनि जनस्वास्थ्य प्रयोगशालाको स्थापना भएको हो ।

हरेक प्रदेशमा कम्तीमा एउटा विशिष्टीकृत रिफरेन्स प्रयोगशाला सञ्चालनका लागि यो प्रयोगशालाको स्थापना गरिएको निमित्त प्रमुख यादवले बताए । प्रयोगशालाले डायालाईसीस गराई रहेका बिरामी, मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरूलाई तीन महिनामा एक पटक ९० प्रतिशत सम्म छुटमा सेवा प्रदान गर्दै आएको छ ।

यस्तै सहिद परिवार, विपन्न परिवार वृद्ध भत्ता पाइरहेका जेष्ठनागरिकलाई समेत छुटमा सेवा दिँदै आएको छ । यसै गरी क्यान्सर तथा एच आइ भी सङ्क्रमित व्यक्तिहरूलाई समेत ९० प्रतिशत छुटमा सेवा प्रदान गर्ने गरेको छ ।

ल्याबले कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरुलाई ९० प्रतिशत, कोशी प्रदेश सरकार मातहतमा कार्यरत कर्मचारी उनीहरूका परिवार लाई ५० प्रतिशत छुटमा सेवा दिने गरेको छ ।

यसै गरी त्रि.वि.वि अन्तर्गतको स्नातकोत्तर क्याम्पस विराटनगरका कर्मचारी, विद्यार्थी तथा खेलाडीहरूलाई ५० प्रतिशत छुट दिने गरेको छ । प्रयोगशालाले डेंगु, मलेरिया, कलाजर लगायत १० किसिमको परीक्षण निःशुल्क गरिरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी प्रकाश चन्द्र कार्कीले बताए ।

प्रयोगशालामा दैनिक ७०–८० जनाले स्वास्थ्य परीक्षणको लागि प्रयोगशालामा आउने गरेका छन् । प्रयोगशालाबाट आर्थिक वर्ष २०७९÷८० मा ३७ हजार ३ सय ४७ जनाले सेवा लिएको सूचना अधिकारी कार्कीले बताए । आर्थिक वर्ष २०८०÷०८१ ज्येष्ठ मसान्त सम्म ५० हजार ५ सय ८२ जनाले सेवा लिएको प्रयोगशालाको तथ्याङ्कमा उल्लेख छ ।

जनशक्ति अभाव
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरलाई अझ प्रभावकारी बनाउन प्रयोगशालामा जनशक्ति थप गर्नु पर्ने निमित्त प्रमुख प्रणव यादवले बताए ।

कोशी प्रदेश अन्तर्गत १४ वटा जिल्ला अस्तपालामा स्वास्थ्य प्रयोगशाला रहेका छन् । यस्तै प्रदेशका १ सय १४ स्थानीय तहमा पनि प्रयोगशाला रहेका छन् । यसै गरी निजी स्तरमा दर्ता भएका ५२ प्रयोगशालाको गुणस्तर सेवाको लागि अनुगमन गर्नु जनशक्ति अपुग रहेको निर्देशक यादवले बताए ।

जनस्वास्थ्य प्रयोगशालाले विभिन्न परीक्षणहरू गरेर रोगको सही पहिचान गर्न मद्दत गर्छ । जसले गर्दा बिरामीको समयमै सही उपचार सुरु गर्न सम्भव बनाउँछ ।

नियमित परीक्षण र जाँचले रोगको प्रारम्भिक चरणमै पहिचान गर्न सकिन्छ, जसले गम्भीर अवस्थामा पुग्नबाट रोक्न मद्दत गर्छ । रोगको सही पहिचान भएपछि सही उपचार विधि अपनाउन सकिन्छ, जसले उपचारको प्रभावकारिता बढाउँछ । प्रारम्भिक चरणमै रोग पहिचान हुँदा उपचार सजिलो र सस्तो हुन्छ, जसले रोगीको समय र खर्च बचत गर्न मद्दत गर्छ ।

साथै, डायग्नोस्टिक केन्द्रहरूले समाजमा स्वास्थ्य सम्बन्धी सचेतना फैलाउँछन् र नियमित स्वास्थ्य परीक्षणको महत्त्व बुझाएर स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्छन् । प्रयोगशालाका कारण रोगको निदान र रोग लाग्नै नदिने भए पनि यसको बारेमा प्रचार प्रसार कम भएको निमित्त निर्देशक यादवले बताए ।

संविधानको भाग ३ मा स्वास्थ्य सम्बन्धी हक मौलिक हकको व्यवस्था गरको छ । संविधानको धारा ३५ को उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने उल्लेख छ ।

सोही धाराको उपधारा (२) प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ भन्ने उल्लेख छ भने उपभार (३) प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भन्ने उल्लेख छ ।

सोही संवैधानिक व्यवस्थालाई परिपूर्ति गर्न कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेश जनस्वास्थ्य प्रयोगशाला बाट सेवा प्रदान गर्दै आएको छ । यो बाहेक प्रदेश सरकारले मातहतका ४६ वटा अस्पतालबाट पनि विभिन्न खाले सेवा प्रदान गर्दै आएको छ ।

प्रदेश सरकारले जिल्ला आयुर्वेद कार्यालयहरू, जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय, तालिम केन्द्र र आपूर्ति व्यवस्थापन मार्फत स्वास्थ्य सेवाहरू प्रदान गर्दै आइरहेका छन् ।

नागरिकको स्वास्थ्य सम्बन्धी आधारभूत आवश्यकता परिपूर्तिका लागी संविधानको भाग–४ राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व उल्लेख छ ।

धरा ५१ नागरिकलाई स्वस्थ बनाउन प्रदेश सरकारले जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जाने, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्ने उल्लेख छ ।
यस्तै नेपालको परम्परागत चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोपेथिक लगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवर्धन गर्ने सो धारामा उल्लेख छ । सो धारामा स्वास्थ्य क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै यस क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने उल्लेख छ । स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड दिँदै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सङ्ख्या वृद्धि गर्दै जाने, प्रदेशको क्षमता र आवश्यकता अनुसार प्रदेश सरकारले नागरिकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

आयुर्वेद चिकित्सा पद्धदी सुधार गर्दै प्रदेश

कोशी प्रदेश सरकारले १४ वटै जिल्लामा १–१ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गरी सेवा दिन थालेको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र विराटनगरका वरिष्ठ वैद्य तिर्था बस्नेतका अनुसार मोरङमा ३ बटा आयुर्वेद औषधालय र ५ बटा नागरिक आरोग्य सेवा केन्द्र मार्फत आम नागरिकको स्वास्थ्य उपचार भइरहेको छ ।

मोरङको उल्र्लावारी नगरपालिकाको राजघाटमा, बेलवारी नगरपालिकाको बेलवारीमा र रतुवामाई नगरपालिकाको सिजुवामा आयुर्वेद औषधालयहरू रहेका छन् ।

यस्तै मोरङको जहदा, मिक्लाजुङ्ग र कानेपोखरीमा गाउँपालिका, रतुवामाइ नगरपालिका र रङ्गेली नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा छन् ।
जिल्लाका आयुर्वेद स्वास्थ्य केन्द्रबाट आयुर्वेद बहिरङ्ग सेवा, पञ्चकर्म सेवा (पूर्व कर्म÷उपक्रम), क्षार सूत्र सेवा प्रदान गरिँदै आएको छ ।

यसै गरी शल्य चिकित्सा सेवा, प्राकृतिक चिकित्सा सेवा, होमियोप्याथिक चिकित्सा सेवा समेत प्रदान हुँदै आएको छ । यस्तै उपचारात्मक योग सेवा, स्वास्थ्य जीवन परामर्श सेवा प्रदान हुँदै आएका छ ।

त्यसै गरी नागरिक आरोग्य सेवा केन्द्रबाट सामान्य चिकित्सा सेवा, स्तनपायी आमा तथा मातृ शिशु सुरक्षात्मक सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य संरक्षण तथा प्रवर्द्धनात्मक सेवा, प्याथोलोजी ल्याब सेवा र स–शुल्क फार्मेसी सेवाहरू उपलब्ध रहेका छन् ।

आयुर्वेद स्वास्थ्य केन्द्रबाट २३ किसिमको औषधीहरू निःशुल्क उपलब्ध गराउने गरेका छन् । त्यसै गरी ज्येष्ठ नागरिकको परिचय पत्र लिएर आएमा अश्वगन्धा चूर्ण र अमलकी चूर्ण निःशुल्क र स्तनपाय आमाको लागि शतावरी चूर्ण, ज्वानो र मालिस गर्ने तेल निःशुल्क उपलब्ध गराउने गरको छन् ।

ज्येष्ठ नागरिकलाई पञ्चकर्म र ओपिडीमा ५० प्रतिशत छुट दिने गरेको छ ।
दैनिक उपचारको लागि ८० देखि ९० जना सम्म आउने गरेकोमा आर्थिक वर्ष २०८०÷०८१ को ज्येष्ठ मसान्त सम्म ९ हजार १ सय ८२ जना महिला र ९ हजार ६ सय ७४ पुरुषलाई सेवा प्रदान गरिएको बैद्ध बस्नेतले वताइन ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]